इलामको सूर्योदय नगरपालिकाका चिया उद्योगीहरूले भोलिदेखि उद्योग बन्द गर्ने घोषणा गरेका छन् ।
भारतीय चिया बोर्डले नेपाली चिया आयातमा अवरोध गरेपछि सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएशनमा आबद्ध ५१ वटा उद्योगले यो निर्णय गरेका हुन् ।
एसोसिएशनका अनुसार तयारी चिया बिक्री हुन नसकेको, गोदाम भरिएको र किसानलाई हरियो चियापत्तीको भुक्तानी दिन नसकिने अवस्था सिर्जना भएकाले उद्योग बन्द गर्नुपरेको हो ।
भारतीय चिया बोर्डले गएको मे १ देखि लागू गरेको नयाँ मापदण्डअनुसार नेपालबाट निर्यात हुने चियाको हरेक खेपको अनिवार्य गुणस्तर परीक्षण गर्नुपर्ने व्यवस्था गरेको छ ।
परीक्षण प्रतिवेदन आउन २ हप्तासम्म लाग्ने र यसबीच चिया बिक्री गर्न नपाइने भएकाले अहिले भारतीय बजारमा पुगिसकेको ३ लाख किलोभन्दा धेरै नेपाली चिया रोकिएको छ भने उद्योगहरूमा थप ७ लाख किलो तयारी चिया थन्किएको छ ।
एसोसिएशनका अध्यक्ष डिल्ली श्रेष्ठका अनुसार चिया बिक्री नहुने र भण्डारण गर्ने ठाउँ नभएपछि उद्योग बन्द गर्नुको विकल्प छैन । उद्योग बन्दले सूर्योदय नगरपालिकाका झन्डै ३ हजार चिया किसान प्रत्यक्ष प्रभावित हुनेछन् ।







