सरकारको विभेदकारी र स्वेच्छाचारी सूचना र विज्ञापनसम्बन्धी निर्णय खारेजीलगायतका मागसहित आज देशभरका पत्रकारहरुले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् ।
महासंघको सर्कुलर अनुसार आज देशैभरिका पत्रकारहरुले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका हुन् ।
यसैक्रममा नेपाल पत्रकार महासंघ झापा शाखाको अगुवाईमा जिल्ला प्रशासन कार्यालय झापाको मुलगेटमा झापाली पत्रकारहरु एक घण्टा धर्ना बसेका थिए ।
सूचना विज्ञापनसम्बन्धी विभेदकारी र स्वेच्छाचारी निर्णय खारेज गर, जिम्मेवारी पत्रकारिता हामी गर्छौ प्रेस स्वतन्त्रताका लागि अघि बढ्छौ , नेपाल पत्रकार महासंघका मागहरु तत्काल सम्बोधन गर, प्रेस स्वतन्त्रता जिन्दावाद, निर्वाध सूचना प्राप्तिको अधिकार सुनिश्चित गर, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सम्बन्धी संवैधानिक हकको रक्षा गर ’लगायतका नारा लेखिएका प्लेकार्डसहित झापाली पत्रकारहरु धर्नामा बसेका थिए ।
नेपाल पत्रकार महासंघले विगत दुई महिनादेखि दबाबमूलक आन्दोलन गरिरहेको छ । वर्तमान बालेन्द्र शाह नेतृत्वको सरकारले महासंघको माग सम्बोधनका लागि पहल नलिएको भन्दैं महासंघले थप आन्दोलनका कार्यक्रम तय गरि २१ जेठमा प्रदेश समिति, जिल्ला, प्रतिष्ठान र एसोसिएट संस्थालाई सर्कुलर गरेको थियो ।
१८ चैतमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी खर्चमा मितव्ययिता कायम गर्न तथा सूचना प्रकाशन प्रक्रियालाई पारदर्शी र एकरूपता बनाउन भन्दै सरकारी सञ्चारमाध्यममा मात्र विज्ञापन प्रकाशन प्रसारण गर्न निर्देशन दिएको थियो ।







