नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा शनिबार झापाको दमकमा पत्रकार सम्बद्ध संघ-संगठनहरुबीचको सहभागितामा सम्पन्न भएको हाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब प्रथम भएको छ ।
जिल्लामा रहेको ११ वटा संघ-संगठनको सहभागिता रहेको उक्त प्रतियोगितामा अर्जुनधारा प्रेस क्लब द्वितीय र प्रेस युनियन झापा शाखा तृतीय भएको छ ।
त्यसैगरी पर्यटन पत्रकार मञ्च झापा शाखा, प्रेस चौतारी झापा शाखा, प्रेस सेन्टर झापा शाखा, नारी सञ्चार गृह, मेचीनगर प्रेस क्लब, दमक प्रेस क्लब, सञ्चारीका समूह र नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) झापा शाखा सान्तवना भएका छन् ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्तवना हुने टिमले नगद पुरस्कार क्रमश ११ हजार एक सय ११ रुपैयाँ, सात हजार सात सय ७७ रुपैयाँ, पाँच हजार पाँच सय ५५ रुपैयाँ र सान्तवना हुने आठ वटा टिमले जनही दुई हजार दुई सय २२ रुपैयाँसहित प्रमाण पत्र प्राप्त गरेका छन् ।
शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा आयोजित प्रतियोगिताका विजेता टिमहरुलाई प्रमुख अतिथि दमक नगरपालिकाका प्रमुख राम थापा, नेपाल पत्रकार महासंघ कोशी प्रदेश कमिटीकी उपाध्यक्ष अम्बिका भण्डारीलगायतले नगद पुरस्कार तथा प्रमाण पत्र हस्तान्तरण गरेका थिए ।
दमक नगरपालिकाको आर्थिक सहयोगमा आयोजित प्रतियोगिताको क्वीज मास्टर शिक्षक बद्री कार्की र निर्णायकहरु बिमल लामिछाने, विष्णु सुब्बा र मञ्जु डाँगी रहेका थिए ।
उपाध्यक्ष सुब्रत न्यौपानेले स्वागत तथा महिला उपाध्यक्ष बिनिसा गौतमले धन्यवादसहित समापन मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सचिव राजु पाठक र सह-सचिव तिलक योञ्जनले संयुक्त रुपमा गरेका थिए ।







