झापाको बिर्तामोड नगरपालिका वडा नं.९ मा अवस्थित तारा दुग्ध पदार्थ खरिद बिक्री केन्द्रमा वडाध्यक्षदेखि किसानसम्म दुध खरिद र बिक्री गर्न आउने गरेका छन् ।
आफनै वडाभित्र दुध खरिद बिक्री केन्द्र स्थापना भएपछि तारा दुग्ध पदार्थ केन्द्र हरेक किसानको रोजाईमा पर्दै गएको छ ।
प्रत्येक दिन केन्द्रमा दुध बिक्री गर्न आउने गरेको सुनाउँदै सोही वडाका वडाध्यक्ष हरिप्रसाद चम्लागाईंले आफनै वडामा दुध खरिद बिक्री केन्द्र स्थापना भएसँगै किसानहरुलाई धेरै नै सहज भएको बताउँछन् ।
केही समय अघिसम्म भारतीय नागरिकहरुले साइकलमा गाउँ-गाउँमा गएर दुध संकलन गरेर बजारमा बेच्ने तर धेरै पैसा भएपछि गाउँनै नफर्कने समस्या भोगिरहेका किसानले आफनै वडाभित्र दुध बिक्री केन्द्र स्थापना भएसँगै भने समयमै दुधको मूल्य पाउने गरेका छन् ।
उक्त दुध खरिद बिक्री केन्द्रमा बिर्तामोड-९ का अधिकांश किसानसहित छिमेकी वडाबाट समेत केही किसानहरुले दुध ल्याउने गरेको सञ्चालक ओमकार खरेलले जानकारी दिए ।
उनका अनुसार वार्षिक रुपमा केन्द्रबाट एक करोडभन्दा बढी मूल्यको दुधजन्य पदार्थ कारोबार हुने गरेको छ । उक्त खरिद बिक्री केन्द्रमा एकदेखि २५ लिटरसम्म दुध किसानहरुले ल्याउने गरेका छन् ।
देशमा रोजगारीको अभावका कारण युवाहरु विदेशी रहनु परेको अवस्थामा ओमकारले भने श्रीमतीको सहयोगमा आफनै वडामा दुध खरिद बिक्री गरेर मनग्य आम्दानी गरिरहेका छन् ।







