झापाको कचनकवल गाउँपालिकामा आगलागी हुँदा दुई दाजुभाइको घर जलेर नष्ट भएको छ ।
आगलागीबाट अन्दाजी १८ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार कचनकवल-५ डाँगाबारी निवासी मैरदिन मियाँको घरमा बुधबार दिउँसो करिब १२:२० बजे आगलागी भएको हो । टिनको छाना र प्लास्टिकले बनेको भान्सा घरमा विद्युत् तार सर्ट भएर आगो लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
आगलागीबाट भान्सा घरभित्र रहेको अन्नपात, भाँडा कुडा दाउरा लगायतका सामग्री जलेर नष्ट भएका छन् । यसबाट करिब ६ लाख रुपैयाँ बराबरको क्षति भएको बताइएको छ ।
मैरदिनको घरबाट फैलिएको आगोले उनका दाजु मैनुदिन मियाँको मूल घरसमेत जलेको प्रहरीले जनाएको छ । आगलागीबाट घरभित्र रहेका अन्नपात, चामल, लत्ताकपडा, नगद, जिन्सी सामग्री, सुनचाँदी, भाँडाकुँडा तथा काठसमेत नष्ट हुँदा करिब ११ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल डाँगाबारी, भद्रपुर नगरपालिकाको दमकल तथा स्थानीयवासीको सहयोगमा दिउँसो १:३० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।







