एक तिहाइ अमेरिकी वयस्कहरू राति न्यूनतम सात घण्टाको निद्रा पनि लिन नसक्ने एक अनुसन्धानले देखाएको छ ।
विश्वभर अनिद्रा र कम निद्राको समस्या बढिरहेको छ । यसका साथै मानिसहरू राम्रो निद्राका लागि सप्लिमेन्ट र औषधिहरूमा बढी निर्भर हुन थालेका छन् तर विशेषज्ञहरूले दैनिक रूपमा निद्रा लाग्ने चक्की वा सप्लिमेन्टको भर पर्नु सही नभएको चेतावनी दिइरहेका छन् ।
न्युयोर्क टाइम्समा प्रकाशित एक सामग्री अनुसार अमेरिकी स्वास्थ्य एजेन्सी सीडीसीको नयाँ रिपोर्टअनुसार हरेक आठमध्ये एक अमेरिकी वयस्क सुत्न वा निद्रा पूरा गर्नका लागि कुनै सप्लिमेन्ट वा औषधिको प्रयोग गर्छन् ।
त्यस्तै अर्को एउटा रिपोर्टले एक तिहाइ अमेरिकी वयस्कहरू राति न्यूनतम सात घण्टाको निद्रा पनि लिन नसक्ने देखाएको छ ।
ड्युक युनिभर्सिटी मेडिकल सेन्टरका निद्रासम्बन्धी वैज्ञानिक डा.सुजय कन्सागराका अनुसार धेरै मानिसहरू मेलाटोनिन र म्याग्नेसियम जस्ता सप्लिमेन्टलाई जादुई उपाय मान्छन्, जबकि उनीहरूले आफ्नो निद्रा बिग्रनुको वास्तविक कारणहरूको जाँच गराउनुपर्छ ।
उनको भनाइ छ म्याग्नेसियमले निद्रा सुधार्ने प्रमाणहरू सीमित छन् । यद्यपि मांसपेशी तन्किने वा खुट्टा बाउँडिने (ऐँठन हुने) समस्या भएका मानिसहरूलाई यसले केही मद्दत गर्न सक्छ ।
विशेषज्ञहरूका अनुसार सप्लिमेन्टप्रतिको निर्भरताले धेरै पटक वास्तविक रोग वा समस्यालाई लुकाइदिन्छ । तनाव, राति अबेरसम्म स्क्रिन हेर्नु, अनियमित दिनचर्या र कामको दबाब पनि निद्रा बिग्रनुका ठूला कारणहरू हुन् ।
डाक्टरहरू भन्छन् राम्रो निद्राका लागि औषधि खानुभन्दा पहिले आधारभूत बानीहरूमा ध्यान दिनुपर्छ । जस्तै: हरेक दिन एउटै समयमा सुत्ने र उठ्ने, बिहान घाम ताप्ने, नियमित व्यायाम गर्ने, सुत्नुअघि स्क्रिनबाट टाढा रहने र सुत्ने कोठा (बेडरुम)लाई अँध्यारो तथा चिसो राख्ने ।







