झापाको बिर्तामोड नगरपालिका वडा नं.१ मा बाल क्लबका पदाधिकारीहरुलाई प्रतिवेदन लेखन तालिम सम्पन्न भएको छ ।
आदर्श बाल क्लबका २९ जना बालबालिकाहरुको लागि सामाजिक सञ्जालको प्रयोग, लागुपदार्थ दुर्व्यसनी, व्यक्तिगत घटना दर्ता लगायतका विषयमा दुई दिने तालिम प्रदान गरिएको वडा सचिव जानुका बस्नेतले जानकारी दिइन् ।
तालिममा चेतना नेपालका सञ्चालक ईन्द्रप्रसाद ओली र प्रेमकुमार सेडाईले प्रशिक्षण प्रदान गरेका थिए ।
समापन कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड १ का वडाध्यक्ष तथा नगरका प्रवक्ता अग्निप्रसाद पाण्डेले देशको नेतृत्वमा पुग्ने बालबालिकाहरुलाई यस प्रकारको ज्ञान आवश्यक भएकोले तालिमको आयोजना गरिएको बताए ।
कार्यक्रममा बोल्दै तालिममा सहभागी सुलभ कार्की र तपस्या प्रसाईले तालिम प्रभावकारी भएको र यसलाई व्यवहारमा लागु गर्ने धारणा राखेका थिए ।
आदर्श बालक्लबका अध्यक्ष न्युसन थापाको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा बिर्तामोड नगरपालिकाका कार्यपालिका सदस्य यामुना आचार्य, पूर्व वडा सदस्य प्रेमप्रसाद खरेल लगायतको उपस्थिति रहेको थियो ।
उक्त तालिममा सहभागिहरुको क्रियाशिलताको आधारमा चार जनालाई पुरस्कृत समेत गरिएको छ । जसमा तपस्या तामन प्रसाईं प्रथम, आर्या पाण्डे दोश्रो, सायुमा लिम्बु तेश्रो र जोशना कार्की सान्तवना भएका छन् ।







