प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले विश्वविद्यालय र स्वास्थ्य क्षेत्रका शैक्षिक संस्थामा दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।
उनले विश्वविद्यालय र प्रतिष्ठानमा कुनै पनि बहानामा राजनीति गर्न नहुने अडानसहित दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउन उपकुलपतिहरूलाई निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बेलुका देशभरिका विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग साढे तीन घण्टासम्म समसामयिक विषयमा छलफल गरेका थिए ।
त्यस क्रममा उनले राजनीतिक दलसँग आबद्ध विद्यार्थी तथा कर्मचारी सङ्गठनहरूको संरचना हटाउन कुनै पनि ऐन बाधक नहुने जानकारी गराए । प्रधानमन्त्री शाहले अस्पताल, क्याम्पस, विद्यालय जस्ता संस्थामा राजनीति गर्ने वा कुनै पनि दलको झण्डा, प्रभाव वा सङ्गठन राख्न नहुनेमा जोड दिए ।







