बढ्दो खानेपानीको मागलाई ध्यानमा राख्दै मेचीनगर-१२ धाइजनमा अवस्थित धाइजन चारआली साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले नयाँ डिप बोरिङको शिलान्यास गरेको छ ।
मेचीनगर नगरपालिका वडा नं.१२ सरस्वती टोल निवासी जानुकादेवि अर्यालले केही महिना अघि खानेपानीलाई दान गरेको जग्गामा विधिगत रुपमा पूजा गर्दै आज एक कार्यक्रमको आयोजना गरेर बोरिङ शिलान्यास गरिएको हो ।
संस्थाका अध्यक्ष राजन चिमरियाको अध्यक्षतामा भएको कार्यक्रममा अर्जुनधारा नगरपालिका वडा नं.१० वडाध्यक्ष भुपेन्द्र न्यौपाने तथा संस्थाका पूर्व अध्यक्ष लालबहादुर थेवले शुभकामना मन्तव्य राखेका थिए ।
उक्त अवसरमा संस्थाका पदाधिकारी, सदस्य, लेखा समितिका पदाधिकारी, सल्लाहकार, इकाई समितिका संयोजक, सचिव तथा उपभोक्ता लगायतको बाक्लो उपस्थिति रहेको थियो ।
अर्याल परिवारले दान गरेको ४ धुर जग्गा र संस्थाले खरिद गरेको १ धुर जग्ग्गामा बोरिङ निर्माण गर्न लागेको संस्थाका अध्यक्ष चिमरियाले जानकारी दिए ।
संघीय सरकारबाट प्राप्त १ करोड ६० लाख तथा संस्थाबाट बाँकी रकम थप गरेर २ करोड १८ लाखको लागतमा योजना ठेक्का लागेको अध्यक्ष चमरियाले बताए ।
हाल ३ हजार ९०० उपभोक्ता रहेको संस्थामा बोरिङ निर्माण भएपछि थप १००० जना लाभान्वित हुने छन् । ग्लोबल कन्स्ट्रक्सनले टेन्डर पारेको योजना करिब दुई महिनामा सक्ने जनाइएको छ ।
यसैबीच बोरिङ शिलान्यासको अवसरमा पाँच जना जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ । यसरी सम्मानित हुनेहरुमा जग्गा दाता जानुकादेवी आर्याल, स्थानीय नर्वदा काफ्ले, मनमाया विष्ट, धर्मानन्द भट्टराई र सन्तप्रसाद देवकोटा रहेका छन् ।
संस्थाका पूर्व उपाध्यक्ष गोमा गौतमले धन्यवाद मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सचिव प्रेम घिमिरेले गरेका थिए ।







