झापाको मेचीनगरमा मोटरसाइकल दुर्घटनामा परेर सशस्त्र प्रहरी बलका सहायक हवल्दारको मृत्यु भएको छ ।
मेचीनगर नगरपालिका-२ स्थित दुर्गा मन्दिर नजिक मदन भण्डारी राजमार्ग सडकखण्डमा मंगलबार बेलुका करिब ५:३० बजे तिरिङखोलाबाट बाहुनडाँगीतर्फ जाँदै गरेको मे ७ प ९६५ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार पाँचथरको फिदिम नगरपालिका-१२ घर भई हाल मेचीनगर-२ बाहुनडाँगीस्थित बीओपीमा कार्यरत ३५ वर्षीय सहायक हवल्दार सचिन तामाङ गम्भीर घाइते भएका थिए । उनको नाक तथा शरीरका विभिन्न भागमा चोट लागेको अवस्थामा बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचारका क्रममा साँझ करिब ६:४५ बजे मृत्यु भएको हो ।
मोटरसाइकल चालक झापाको अर्जुनधारा नगरपालिका-१ घर भई सोही बीओपीमा कार्यरत ४० वर्षीय हवल्दार डिल्लिराम सुबेदी सामान्य घाइते भएका छन् ।
दुर्घटनामा संलग्न मोटरसाइकल इलाका प्रहरी पोस्ट भृकुटीको नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







