१६ माघ, बिर्तामोड– भापा गोल्डकपको सातौँ संस्करण यही माघ २४ गतेदेखि फागुन ४ गतेसम्म बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आयोजना हुने भएको छ ।
भापा गोल्डकप आयोजक समितिले आज पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जानकारी दिँदै यस वर्षको संस्करणलाई ‘एक्सट्रिम सातौँ भापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करण’ का रूपमा सञ्चालन गरिने जनाएको छ । पूर्वी नेपालको प्रतिष्ठित तथा दर्शकमाझ अत्यन्त लोकप्रिय फुटबल प्रतियोगिता गोल्डकपका पूर्वअध्यक्ष दिवंगत विनोद बस्नेतको स्मृतिमा यो संस्करण समर्पित गरिएको हो ।
यस वर्षको भापा गोल्डकपमा नेपालसहित भारत, भुटान र मलेसियाका चर्चित क्लबहरूको सहभागिता रहनेछ । प्रतियोगितामा आयोजक भापा–११ फुटबल क्लबका साथै चर्च ब्वाइज युनाइटेड, त्रिभुवन आर्मी एफसी, नेपाल पुलिस एफसी, मच्छिन्द्र एफसी, एपीएफ एफसी, लालीगुँरास एसोसिसन नेपाल पोखरा, रोयल थिम्पु कलेज भुटान, सिग्लिङ स्पोर्टिङ क्लब भारत तथा एन पेनाङ एफसी मलेसियाले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको विजेता टोलीले नगद १५ लाख रुपैयाँ र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । साथै, म्यान अफ द टुर्नामेन्टलाई एक थान मोटरसाइकल प्रदान गरिनेछ । सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र उत्कृष्ट प्रशिक्षकलाई नगद ३५–३५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ भने प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद २५ हजार रुपैयाँप्रदान गरिनेछ ।
प्रतियोगिता सञ्चालनका लागि करिब १ करोड ५० लाख रुपैयाँ लागत अनुमान गरिएको छ ।
भापा गोल्डकप आयोजक समितिका अध्यक्ष केदार गिरीले प्रतियोगिताले झापा जिल्लालाई फुटबल हबको रूपमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताउँदै आगामी दिनमा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूसँग पनि जोडेर प्रतियोगितालाई निरन्तर अगाडि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यसैबिच झापा गोल्डकपको मुख्य प्रायोजकको रूपमा एग्रो थाई फुड्सको उत्पादन एक्सट्रिम इनर्जी ड्रिंक्स रहने भएको छ । आज आयोजक र प्रायोजक बिच संझौता पत्रमा हस्ताक्षर भएको हो ।







