झापाको बिर्तामोड नगरपालिकाको वडा नं.२ लाई दुई वटा वडा बनाउने प्रस्ताव गरिएको छ ।
नगरपालिकाको दोस्रो नगरसभाको आठौँ अधिवेशनको समापन कार्यक्रम अन्तर्गत आयोजित खुला सत्रमा बोल्दै वडा नं.२ का वडाध्यक्ष किशोर पौडेलले वडा विभाजनको माग गर्दै विशेष प्रस्ताव प्रस्तुत गरेका हुन् ।
वडाध्यक्ष पौडेलले साविक चारपाने गाविसका वडा नं.२, ३, ४, ५, ६, ७, ८ र ९ हाल वडा नं.२ अन्तर्गत रहेकाले क्षेत्रफल, पूर्वाधार र जनसंख्याको दृष्टिले व्यवस्थापन गर्न कठिन भएको बताए । सोही आधारमा नयाँ वडा गठनको प्रस्ताव अघि सारिएको उनले स्पष्ट पारेका छन् ।
उनले साविक वडा नम्बर २, ३, ४ र ५ लाई वडा नम्बर २ तथा साविक वडा नम्बर ६, ७, ८ र ९ लाई वडा नम्बर ११ कायम गर्न प्रस्ताव सभामा प्रस्तुत गरेका हुन् ।
वडाअध्यक्ष पौडेलले प्रस्तुत गरेको विशेष प्रस्ताव सभाबाट पारित भएको नगर प्रमुख पवित्रा महतारा प्रसाईंले जानकारी दिइन् । उनले उक्त प्रस्ताव प्रक्रियाका लागि सरकारको सम्बन्धित निकायमा पेश गरिने बताएकी छन् ।
नगर प्रमुख प्रसाईंले नगरपालिका निर्माण गर्दा भौगोलिक अवस्थालाई पर्याप्त ध्यान नदिई सीमाङ्कन गरिएकाले वडा नं.२ र वडा नं.१० अत्यधिक ठूलो रहेको उल्लेख गरेकी थिइन् ।







