झापामा महिला प्रहरीका रूपमा पहिलो पटक जिल्ला प्रहरीको कमाण्ड सम्हाल्न आएकी प्रहरी उपरीक्षक (एसपी) बसुन्धरा खड्काले आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गरी सुरक्षा व्यवस्थामा कुनै कसर बाँकी नराखिने बताएकी छन् ।
मंगलबार जिल्ला प्रहरी कार्यालय झापामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै एसपी खड्काले फागुन २१ गते हुने निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन विशेष सुरक्षा योजना तयार गरिएको जानकारी दिइन् । उनका अनुसार खुला सीमा नाका, तस्करी, लागूऔषध ओसारपसारलगायत संवेदनशील क्षेत्रलाई प्राथमिकतामा राख्दै उच्च मनोबलका साथ प्रहरी परिचालन गरिनेछ ।
यसैबीच गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि हराइरहेका १६ नाल बन्दुक र फरार थुनुवाको खोजी कार्यलाई पनि तीव्र बनाइएको उनले बताइन् । खुला सीमा नाकाबाट हुने चोरी पैठारी, लागूऔषध कारोबार र विभिन्न प्रकारका तस्करी नियन्त्रण गर्न विशेष निगरानी बढाइने पनि उनको दाबी छ ।
एसपी भएपछि तेस्रो जिल्लाको कमाण्ड सम्हाल्न झापा आइपुगेकी खड्काले शान्ति सुरक्षा, कानून कार्यान्वयन र जनताको भरोसा जित्ने आफ्नो प्रमुख प्राथमिकता रहेको बताइन् ।
पत्रकार सम्मेलनको सहजीकरण झापा प्रहरीका डीएसपी एवं प्रवक्ता खगेन्द्रकुमार खड्काले गरेका थिए ।







