मिथ्या सूचनाविरुद्ध आयोजित दुई दिने काठमाडौँ सम्मेलन सम्पन्न भएको छ ।
सम्मेलनले समाचार र सूचनालाई थप विश्वसनीय बनाउन तथ्यलाई आधार बनाउन र हल्लाको पछि लाग्न नहुने निष्कर्ष निकालेको छ ।
पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग र सेन्टर फर मिडिया रिसर्च नेपाल (सिएमआर-नेपाल) ले काठमाडौँमा आयोजना गरेको सम्मेलनमा विज्ञ तथा अध्येयताहरुले प्रविधिमा भएको पहुँचले गर्दा मिथ्या सूचनाको बाढी लागेकाले सूचनालाई छनौट गरी तथ्यलाई मात्र विश्वास गर्न जरुरी रहेको बताए ।
मिथ्या सूचनाले समाजका सबै क्षेत्रलाई प्रभावित पारेको बताउँदै विज्ञहरुले मिथ्या सूचना विरुद्धको प्रतिकारका लागि प्रविधि र समयको गति बुझ्नुका साथै सूचना साक्षरता बढाउनु पर्ने आवश्यकता औल्याएका छन् ।
सम्मेलनमा राजनीति शास्त्री हरि शर्माले राजनीति लगायत सबै क्षेत्रमा मिथ्या सूचनाको प्रभाव परेको उल्लेख गर्दै आँखाले देखेको कुरा समेत सही नहुने अवस्था रहेको बताए । प्रश्न सकिए लोकतन्त्र मर्ने धारणा व्यक्त गर्दै राजनीतिशास्त्री शर्माले प्रश्न सकिए मिथ्या सूचना पनि बढी फैलिने बताएका छन् ।
युनेस्कोका नेपाल प्रतिनिधि याको डु टोइटले सही सूचना लोकतन्त्रको मुख्य आधार भएको उल्लेख गर्दै प्रविधिको सहजताले मिथ्या सूचना निकै छिटो फैलिएको बताए ।
उनले मिथ्या सूचनालाई न्यूनीकरण गर्न सूचनाको हक र सही सूचनाको पूर्वप्रवाहमा सरोकारवाला सबै एकठाउँमा उभिनु पर्ने र सरकार, प्रविधि, लोकतान्त्रिक शक्ति, नागरिक समाज, मिडिया, प्राज्ञिक क्षेत्र लगायत पारदर्शी र जवाफदेही हुनु पर्ने धारणा व्यक्त गरेका थिए ।
आइतवार सम्मेलनमा मिथ्या सूचनाविरुद्ध लड्न पत्रकारिता शिक्षा, मिडियाका भूमिका र मिथ्या सूचनाविरुद्धका कार्यक्रम विषयमा तीनवटा सत्रसहित सोसल मिडिया प्लेटफर्म नियमन र जलवायु परिवर्तनका विषयमा पनि प्यानल छलफल गरिएको थियो ।
मिथ्या सूचनाविरुद्ध पत्रकारिता शिक्षाको भूमिकासम्बन्धी सत्रमा डा.लीला न्याइच्याइ, दीपक अर्याल, रोमकान्त पाण्डे र यमबहादुर दुरालाई डा.घमराज लुइँटेलले सहजीकरण गरेका थिए ।
त्यस्तै मिथ्या सूचनाविरुद्ध मिडियाको भूमिकाबारे सत्रमा प्रेस काउन्सिलका अध्यक्ष डा.कुमार शर्मा आचार्य, प्रतीक प्रधान, नितु पण्डित र उमेश चौहानलाई पत्रकार दुर्गा खनालले सहजीकरण गरेका थिए ।
मिथ्या सूचनाविरुद्धका कार्यक्रमसम्बन्धी सत्रमा उमेश श्रेष्ठ, बबिता बस्नेत, प्रनय स्थापित र किरण भण्डारीलाई डा.श्रीराम पौडेलले सहजीकरण गरेका थिए भने डा.कुन्दन अर्यालले सहजीकरण गरेको सोसल मिडिया प्लेटफर्म नियमनसम्बन्धी सत्रमा वक्ताहरू तारानाथ दाहाल, डा.दोभान राई, डा.श्रीकृष्ण भट्टराई र शेखर क्षेत्री रहेका थिए ।
त्यस्तै जलवायु परिवर्तनका मिथ्या सूचनाबारे सत्रमा रमेश भुषाल, इन्दिरा अर्याल, शुशीलकुमार श्रेष्ठ र मुकेश पोखरेललाई युनेस्कोकी निर्जना शर्माले सहजीकरण गरेकी थिइन् ।
दुई दिने सम्मेलनमा मिडिया, सोसल मिडिया र मिडिया साक्षरतासम्बन्धी एक दर्जन अनुसन्धान प्रस्तुत गर्नुका साथै विज्ञ, नीति निर्माता, पत्रकार लगायतबीच विषयगत छलफल गरिएको थियो ।







