डिप्लोमा इन्जिनियर्स एशोसिएसन नेपाल डिन झापाको कार्यालय भवन उद्घाटन गरिएको छ ।
बिर्तामोड-६ बुट्टावारीस्थित नयाँ भवन आज एक समारोहका बीच डिनका केन्द्रीय अध्यक्ष कामेश्वर सिंह र जग्गादाता गोपिकृष्ण प्रसाईंले उद्घाटन गरेका हुन् ।
स्वर्गीय जयन्द्र र धनमाया प्रसाईंको स्मृतिमा छोरा-बुहारी गोपिकृष्ण र टिकादेवी प्रसाईंले २०७१ साल फागुन ३ गते एक कठ्ठा जग्गा नि:शुल्क प्रदान गरेका थिए । उक्त जग्गामा कोशी प्रदेश सरकारको १ करोड ८ लाख रुपैयाँको बजेटमा आठ कोठे भवन निर्माण गरिएको हो ।
आर्थिक वर्ष २०७९/८० मा ५० लाख र ०८१/८२ मा ५८ लाख रुपैयाँ बजेट निकासा भएपछि शहरी विकास तथा भवन डिभिजन कार्यालयले ठेक्का लगाएर भवन निर्माण सम्पन्न गरिदिएको डिन झापाका अध्यक्ष सडकलाल राजवंशीले जानकारी दिए ।
कोशी प्रदेशमा सुनसरीपछि डिन झापाले पहिलोपटक आफ्नै कार्यालय भवन बनाएको अध्यक्ष राजवंशीले बताए । काठमाण्डौँमा केन्द्रीय कार्यालय रहेको छ भने झापा, सुनसरी र दाङमा मात्र जिल्ला शाखाहरूको आफ्नै भवन रहेको केन्द्रीय अध्यक्ष सिंहले जानकारी दिए ।
भवन उद्घाटन समारोह डिन झापाका अध्यक्ष राजवंशीको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष सिंहको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा बिर्तामोड-६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वाले प्रसाईं परिवारले वडा कार्यालयका लागि ३ कठ्ठा जग्गा दान गरेको स्मरण गर्दै प्रशंसा गरेका थिए ।
जग्गादातालाई सम्मान गरिएको कार्यक्रमको सञ्चालन डिनका कोशी प्रदेश महासचिव कमल दाहालले गरेका थिए ।







