प्रतिनिधिसभा निर्वाचनलाई विशेष प्राथमिकतामा राख्दै जिल्ला प्रहरी कार्यालय झापाको कमाण्ड सम्हालेकी नयाँ प्रहरी उपरीक्षक (एसपी) बसुन्धरा खड्काले मातहतका प्रहरीलाई कडा र स्पष्ट निर्देशन दिएकी छन् ।
शान्तिपूर्ण, निष्पक्ष र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गराउनु आफ्नो पहिलो दायित्व भएको उल्लेख गर्दै उनले सुरक्षामा कुनै पनि किसिमको लापरबाही नहुने चेतावनी दिएकी छन् ।
सरुवा भएर गएका एसपी राजन लिम्बूको विदाइ तथा नयाँ एसपी खड्काको स्वागत कार्यक्रमका क्रममा बोल्दै उनले निर्वाचन लक्षित सुरक्षा योजना तत्काल कार्यान्वयनमा ल्याउन निर्देशन दिएको एक प्रहरी अधिकारीले बताए ।
उनका अनुसार एसपी खड्काले जिल्लाभरका प्रहरी युनिटको नियमित अनुगमन गर्ने, फाँटगत गतिविधि प्रत्यक्ष बुझ्ने र आवश्यक परे कठोर निर्णय लिन पछि नपर्ने स्पष्ट सन्देश दिएकी छन् ।
गृह मन्त्रालयले निर्वाचन सुरक्षालाई केन्द्रमा राखेर खड्कालाई झापामा पठाएको हो । उनी बाग्मती प्रदेश प्रहरी कार्यालय मानव स्रोत व्यवस्थापन महाशाखा, हेटौडाबाट सरुवा भई झापा आएकी हुन् । यसै क्रममा झापाका एसपी राजन लिम्बू मानव बेचबिखन अनुसन्धान ब्युरो, अनुसन्धान व्यवस्थापन शाखा काठमाडौँ सरुवा भएका छन् ।







