झापाको बिर्तामोडमा मोटरसाइकल र अटो ठोक्किँदा युवतीको मृत्यु भएको छ ।
शनिबार राति १०:५० बजे बिर्तामोडको अधुवा खोला पुलछेउ पूर्वपश्चिम राजमार्गमा लक्ष्मीपुरदेखि मुक्तिचौकतर्फ आउँदै गरेको प्र.१-०२-०४२ प.१९०४ नं.को मोटरसाइकलले वानस्टप मलदेखि अधुवा खोलातर्फ जाँदै गरेको मे.१ ह.३७२१ नं.को अटोलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक गौरादह वडा नं.३ बस्ने वर्ष २४ का निरज कार्की र मोटरसाइकलमा पछाडी सवार दमक बस्ने वर्ष २२ की सुजाता बुढाथोकी घाइते भएका थिए । टाउकोमा चोट लागेर गम्भीर घाइते भएकी सुजातालाई बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको थियो । उपचारका क्रममा आज बिहान ४ बजे उनको मृत्यु भएको हो ।
दुवै सवारी साधन, अटो चालक अर्जुनधारा वडा नं.६ बस्ने वर्ष ३४ का खेमराज खड्का र मोटरसाइकल चालक कार्कीलाई सामान्य उपचारपश्चात् नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोड राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।







