अमेरिकी विदेश मन्त्रालयले बुधबार नेपालसहित अफगानिस्तान, इरान, रुस र सोमालियासहित ७५ देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया स्थगित गर्ने घोषणा गरेको छ ।
ट्रम्प प्रशासनले ती देशका नागरिकहरू अमेरिकामा बस्दा सार्वजनिक सहायतामा निर्भर हुन सक्ने सम्भावना रहेको भन्दै यो कदम चालेको हो ।
विदेशमन्त्री मार्को रुबियोको नेतृत्वमा रहेको विदेश मन्त्रालयले कन्सुलर अधिकारीहरूलाई प्रभावित देशहरूबाट आउने आप्रवासी भिसा आवेदनहरू रोक्न निर्देशन दिएको छ । यो निर्णय गत नोभेम्बरमा जारी गरिएको एउटा बृहत्तर आदेश अनुरूप छ, जसले अमेरिकी सरकारमाथि आर्थिक भार बन्न सक्ने सम्भावित आप्रवासीहरूका लागि नियमहरू कडा बनाएको थियो ।
यो कदम प्रशासनले यसअघि नै करिब ४० देशहरूमा लगाएको अध्यागमन र यात्रा प्रतिबन्धकै निरन्तरता हो र विदेशीहरूका लागि अमेरिकी प्रवेश मापदण्ड कडा पार्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रयासको एक हिस्सा हो ।
मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, ‘ट्रम्प प्रशासनले अमेरिकी जनताको सम्पत्ति दोहन गर्नेहरूद्वारा भइरहेको अमेरिकी अध्यागमन प्रणालीको दुरुपयोग अन्त्य गर्दैछ । यी ७५ देशका आप्रवासी भिसा प्रक्रिया तबसम्म रोकिनेछ जबसम्म विदेश मन्त्रालयले विदेशी नागरिकहरूको प्रवेश रोक्न अध्यागमन प्रक्रियाको पुनस् मूल्याङ्कन गर्दैन ।’
आगामी जनवरी २१ देखि सुरु हुने यो स्थगन गैर-आप्रवासी भिसा (पर्यटक वा व्यापारिक भिसा) खोज्नेहरूका लागि भने लागू हुने छैन । आगामी २०२६ को विश्वकप र २०२८ को ओलम्पिक अमेरिकाले आयोजना वा सह-आयोजना गर्ने भएकाले आगामी महिना र वर्षहरूमा गैर-आप्रवासी भिसाको माग नाटकीय रूपमा बढ्ने अपेक्षा गरिएको छ ।







