इष्टर्न साहारा कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्दै आफ्नो तेस्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
झापाको बिर्तामोडस्थित सिटी प्यालेसमा महानायक राजेश हमालले साधारण सभा उद्घाटन गरेका थिए । कार्यक्रममा २७ करोड ५० लाख रुपैयाँ बराबरको साधारण शेयर सार्वजनिक निष्कासन गर्ने र त्यसका लागि आवश्यक सम्पूर्ण कानुनी तथा प्रक्रियागत कार्य अगाडि बढाउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने निर्णय गरेको हो ।
सभामा सञ्चालक समितिले प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि विस्तृत छलफल गरी पारित गरिएको थियो । सभाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्नुका साथै कम्पनीको प्रबन्धपत्र र नियमावलीका विभिन्न दफाहरूमा आवश्यक संशोधन र परिमार्जन गर्ने प्रस्तावलाई समेत सर्वसम्मतिले अनुमोदन गरेको छ ।
वि.सं.२०७९ मा लगानीमूलक कम्पनीको रूपमा स्थापना भएको इष्टर्न साहाराले हाल १ अर्ब ५० करोड रुपैयाँ अधिकृत पुँजी र १ अर्ब १० करोड रुपैयाँ चुक्ता पुँजी कायम गरेको छ । विशेषगरी हरित लगानीलाई प्राथमिकता दिँदै आएको यस कम्पनीले जलविद्युत, सौर्य ऊर्जा, कृषि, पर्यटन, सूचना प्रविधि र खनिज उत्खनन जस्ता बहुआयामिक क्षेत्रमा आफ्नो लगानी विस्तार गरिरहेको छ ।
सामाजिक र वित्तीय क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तित्वहरूद्वारा सञ्चालित यस संस्थाले छरिएर रहेको सानो-सानो पुँजीलाई एकीकृत गरी मुलुकको आर्थिक विकास र दिगो परियोजनाहरूमा योगदान पुऱ्याउने लक्ष्य राखेको कम्पनीका अध्यक्ष महेन्द्र गिरीले जानकारी दिए ।
बिर्तामोडमा मुख्य कार्यालय र काठमाडौँको बानेश्वर हाइटमा सम्पर्क कार्यालय रहेको यस कम्पनीको प्रतिशेयर नेटवर्थ १०२.८१ रुपैयाँ रहेको कम्पनीका निर्देशक कृष्ण रानाभाटले जानकारी दिए ।







