नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाले आफ्नो सातौं स्थापना दिवसका अवसरमा सुस्त मनस्थिति सरोकार समाज नेपालमा खाद्यन्नसहित नगद सहयोग गरेको छ ।
झापाको कनकाई-१ जमुनवारीस्थित सुस्त मनस्थिति सरोकार समाज नेपालको बालआवास गृहमा पुगेर खाद्यन्नसहित नगद हस्तान्तरण गरेको हो ।
इक्यान झापाका अध्यक्ष राजकुमार कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा इक्यान केन्द्रिय अध्यक्ष शेषराज भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै केन्द्रिय अध्यक्ष भट्टराईले इक्यान जहिले पनि सामाजिक सेवा तथा सामाजिक कार्यका क्षेत्रमा अग्रसर हुने संस्था रहेको भन्दै आफ्नो स्थापना दिवसका अवसरमा इक्यान झापाले उत्कृष्ट कार्य गरेको भन्दै प्रशंसा गरेका थिए । उनले सुस्त मनस्थिति सरोकार समाज नेपालमा रहेका बौद्धिक अपाङ्गता भएका बालबालिकाको सहयोगका लागि आफ्नो व्यक्तिगत रुपमा २१ हजार नगद सहयोग गरेका थिए ।
कार्यक्रममा बोल्दै इक्यान झापाका संस्थापक अध्यक्ष एवम् प्रमुख सल्लाहकार सुमन शर्मा जमरकट्टेलले इक्यान झापाले आफ्नो स्थापना दिवसका अवसरमा सामाजिक उत्तरदायित्व अन्तरगत बौद्धिक अपाङ्गता भएका बालबालिकालाई सहयोग गरेको भन्दै प्रशंसा गरेका थिए ।
कार्यक्रममा इक्यान झापाका उपाध्यक्ष एवम् सामाजिक उत्तरदायित्व (सीएसआर) विभाग प्रमुख अशोक भण्डारीले शैक्षिक परामर्शको क्षेत्रमा काम गर्दै आएको इक्यान झापाले स्थापना दिवसका अवसरमा सामाजिक उत्तरदायित्व अन्तरगत धेरै कामहरु गरिरहेको बताए ।
सुस्त मनस्थिति सरोकार समाज नेपालकी अध्यक्ष भागिरथा चापागाईँ पोखरेलले स्थानीय, प्रदेश सरकारले केही हदसम्म सहयोग गरेपनि अझै धेरै सहयोगको आवश्यकता रहेको बताइन् ।
सोही अवसरमा इक्यान झापाका अध्यक्ष कार्कीले आफ्नो व्यक्तिगत तर्फबाट ११ हजार नगद सहयोग गरेको कार्यक्रमको सञ्चालन इक्यान झापाका सचिव विशाल सिटौलाले गरेका थिए ।
यसैबीच इक्यान झापाले सातौं स्थापना दिवसका अवसरमा वनभोज कार्यक्रम समेत सम्पन्न गरेको छ ।







