संकटको घडीमा सरकारी संयन्त्रभन्दा छिटो र प्रभावकारी रूपमा पीडितको घरदैलोमा पुग्ने पहिचान बनाएको ‘एकका लागि एक अभियान’ ले विपद्का बेला सहयोग र समन्वय गर्ने दाता तथा अभियन्तालाई सम्मान गरेको छ ।
सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिँदै आएको अभियानले जिल्लामा क्रियाशील विभिन्न संघसंस्था तथा सामाजिक कार्यमा महत्वपूर्ण योगदान पु¥याउने ४२ जनालाई एकैसाथ सम्मान गरेको हो ।
बिर्तामोडमा आइतबार आयोजित विशेष समारोहका बीच अभियानको आय-व्यय सार्वजनिक गर्दै तत्कालीन प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीसहित विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो । हाल काभ्रेपलान्चोकका प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत अधिकारीलाई झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, अभियानका संयोजक महेन्द्रकुमार गिरीलगायतले संयुक्त रूपमा सम्मानपत्र प्रदान गरेका थिए ।
संयोजक गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल तथा सम्मानित व्यक्तित्वका तर्फबाट तत्कालीन प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
अभियान सदस्य लीला चिमरियाले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले गरेका थिए ।







