मेचीनगर प्रेस क्लबको आयोजना हुन गइरहेको ‘इन्डो-नेपाल मेचीनगर मिडिया कप-२०८२’ को लागो सार्वजनिक गरिएको छ ।
मंगलबार प्रेस क्लब मेचीनगरको कार्यालयमा आयोजित संक्षिप्त कार्यक्रमकाबीच लोगो सार्वजनिक गरिएको हो ।
लोगो ट्रफी आकारमा छ । त्यस भित्र सबैभन्दा माथि फुटबल छ र फुटबल भित्र मेचीनगरका पर्यटकीय स्थलहरु समावेश छन् । लोगोको बीच भागमा नेपाल र भारतको झण्डा अंकित छ । उक्त लोगोले नेपाल तथा भारतको सम्बन्धलाई अझ प्रगाढ बनाउन संन्देश प्रवाह गरेको छ ।
प्रेस क्लब मेचीनगरका अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि वडा नं.७ का वडाध्क्ष प्रल्हादमणि ओलीले लोगो सार्वजनिक गरेका हुन् ।
सार्वजनिकी कार्यक्रममा प्रेस क्लब मेचीनगरको संस्थापक अध्यक्ष सन्तोष आचार्य, पूर्व अध्यक्ष ज्ञानेन्द्र निरौलाले सफलताको शुभकामना व्यक्त गरेका थिए । यही पुस २७ र २८ गतेदेखि हुन लागेको मिडिया कपमा नेपालसहित भारतका दुईगरी ८ वटा पत्रकारको टिम सहभागी हुँदैछन् ।
मिडिया कपको विजेताले नगद ५० हजारसहित ट्रफी, शिल्ड तथा प्रमाण पत्र तथा उपविजेता टिमले नगद २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
प्रेस क्लब मेचीनगरका उपाध्यक्ष खगेन्द्र घिमिरेले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव प्रविण अधिकारीले गरेका थिए ।







