हिसान झापा स्पोर्टस कार्निभलमा निदि सेकेन्डरी स्कुलले ऐतिहासिक सफलता हासिल गरेको छ ।
हिसान झापाद्वारा दमकस्थित आदिवासी रंगशालामा २२ वटा विद्यालयहरूबीच सम्पन्न प्रतियोगितामा निदिले उत्कृष्ट प्रदर्शन गर्दै उल्लेखनीय सफलता हासिल गरेको हो ।
भलिबलतर्फ छात्र तथा छात्रा दुवै विधामा निदिले प्रथम स्थान हासिल गर्न सफल भएको छ ।
छात्रा भलिबलतर्फ ग्लोबल स्कुल दमकलाई पराजित गर्दै निदिले उपाधि जित्यो भने छात्र भलिबलतर्फ सिद्धार्थ स्कुल भद्रपुरलाई सिधा सेटमा पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो ।
यसैगरी छात्र फुटबलतर्फ फाइनल खेलमा युनिक स्कुल दमकलाई ३-० गोल अन्तरले पराजित गर्दै उपाधि आफ्नो नाममा लेखाएको छ ।
निदि तथा आदर्श स्कूल अफ म्यानेजमेन्टका छात्रा भलिबल र छात्र फुटबल टोलीहरू लगातार तीन वर्षदेखि उपाधि जित्दै आएका छन्, जसले विद्यालयको खेलकुद क्षेत्रमा निरन्तर उत्कृष्टता, अनुशासन र प्रतिबद्धताको स्पष्ट प्रमाण प्रस्तुत गरेको छ ।
हिसान झापा स्पोर्ट्स कार्निभलअन्तर्गत समावेश पाँच खेलमध्ये तीन वटा खेलमा प्रथम स्थान हासिल गर्दै निदिले प्रतियोगितामा सबैभन्दा सफल विद्यालय बन्न सफल भएको हो ।
यस किसिमको ऐतिहासिक सफलताले खेलाडी विद्यार्थी, प्रशिक्षक, विद्यालय व्यवस्थापन तथा अभिभावकहरूलाई गर्वान्वित बनाएको विद्यालय प्रशासनले जनाएको छ ।







