महिला जनचेतना केन्द्रले विद्यार्थीलाई लक्षित गरेर यौन, प्रजनन् स्वास्थ्य अधिकार, साइबर हिंसा र डिजिटल सुरक्षा सम्बन्धी तालिम सुरु गरेको छ ।
मेचीनगर-६ काँकरभिट्टामा अवस्थित केन्द्रको आयोजनामा महिलामाथि हुने सबै प्रकारका हिंसा, बालविवाह तथा कम उमेरमा हुने विवाह न्यूनिकरण अन्तरगत यौन, प्रजनन् स्वास्थ्य अधिकार, साइबर हिंसा र डिजिटल सुरक्षा सम्बन्धी तीन दिवसीय तालिम बिहीबारदेखि सुरु गरेको हो ।
तालिममा लैङ्गिक हिंसा विरुद्व १६ दिने अभियान चलिरहेको बेला ‘बाल विवाह रोकीँ, बालापन जोगाँउ’ भन्ने नारासहित कचनकवल गाउँपालिका, बाह्दशी गाउँपालिका र मेचीनगर नगरपालिकाका कक्षा ७ देखि प्लस टुका १२ जना विद्यार्थीहरुलाई उक्त तालिम दिइरहेको छ ।
महिला जनचेतना केन्द्रकी सचिव भूवन सुब्बाको अध्यक्षतामा भएको तालिमको उद्घाटन प्रमुख अतिथि मेचीनगर-६ का वडाध्यक्ष ललितबहादुर तामाङले गरेका थिए ।
उक्त अवसरमा प्रमुख अतिथि वडाध्यक्ष तामाङ, मेचीनगर नगरपालिका महिला, बालबालिका तथा सामाजकल्याण शाखाकी प्रमुख जयन्ती खरेल, नेपाल पत्रकार महासंघ कोशी प्रदेशकी उपाध्यक्ष अम्बिका भण्डारी, महिला जनचेतना केन्द्रकी संस्थापक अध्यक्ष राधा प्रधान कार्की लगायतले आ-आफना धारणाा राखेका थिए ।
सहभागी विद्यार्थिहरुलाई पहिलो दिन बिहीबार यौन तथा प्रजनन् स्वास्थ्य अधिकार विज्ञ प्रकृति बाँस्तोलाले यौनता र यौन व्यवहार, यौन अभिमुखिकरण, व्यापक यौन शिक्षा, हिंसा, अपराध र कानुन लगायतका विष्षयमा प्रशिक्षण दिएकी छन् ।
यस्तै दोस्रो दिन शुक्रबार यौन तथा प्रजनन् स्वास्थ्य अधिकार विज्ञ जोस्ना बुढाथोकीले किशोर अवस्थाका समस्या, राम्रो छुवाई, नराम्रो छुवाई, यौन रोग, परिवार योजना, सुरक्षित गर्भपतन, महिनावारी, बालविवाह लगायतका विषयमा प्रशिक्षण दिनेछन् ।
त्यसैगरी समापनका दिन शनिबार इलाका प्रहरी कार्यालय काँकरभिट्टा महिला सेलकी प्रमुख प्रहरी निरीक्षक मिलनकुमारी राईले साइबर हिंसा र डिजिटल सुरक्षा सम्बन्धी प्रशिक्षण दिनेछिन् ।
सहभागी विद्यार्थी फुलबारी किशोरी समूहकी सदस्य पुनम बेगमले स्वागत गरेको कार्यक्रमको सञ्चालन संस्थाकी सदस्य रेजिना श्रेष्ठले गरेकी थिइन् ।







