डिभिजन वन कार्यालय झापाले पूर्वपश्चिम राजमार्गको उत्तर क्षेत्रमा हात्तीबाट सवाधान रहन सर्वसाधारणलाई अपील गर्दै गस्ती र माइकिङ गर्न सुरु गरेको छ ।
मोरङबाट २५ देखि ३० को संख्यामा हुल बाँधेर बच्चासहित हात्तीको बथान झापा प्रवेश गरेपछि स्थानीयवासीलाई जानकारी दिँदै सचेतना अप्नाउन आग्रह गरेर माइकिङ सुरु गरेको डिभिजन वन कार्यालय झापाका प्रमुख भरतबाबु श्रेष्ठ बताए ।
उनका अनुसार डेढ बर्ष अघि बाहुनडाँगीको प्रसाद गौडा हुँदै ५०/६० वटा हात्तीको बथान नेपाल प्रवेश गरेका थिए । सो मध्ये करिब एक बर्ष अघि ३० वटा हात्ती भारततर्फ नै फर्किएको र बाँकी हात्ती मोरङ र सुनसरीका वन क्षेत्रमा रहेका थिए ।
तिनै हात्ती भारततर्फ फर्कने क्रममा झापा आइपुगेका कारण स्थानीयलाई सुरक्षित रहनका लागि डिभिजन वन कार्यालयले गस्ती र माइकिङ गरिरहेको उनले जानकारी दिए । सो हात्तीको बथान आज शिवसताक्षीस्थित रतुवामाई बृक्षारोपण बन क्षेत्रमा रहेको उनले बताए ।
उनले हात्ती कुन क्षेत्रतर्फ गइरहेका छन् भनेर वन कार्यालयले रेखाङ्न गर्दै सोही क्षेत्रमा गस्ती गरिरहेको बताएका छन् ।







