निर्वाचन आयोगले मतदाता नामावलीमा नाम लेखाउनका लागि तोकेको ३० कात्तिकको समयसीमा नजिकिँदै गर्दा मतदाता नामावलीका लागि नाम दर्ता गराउने र फोटो खिचाउनेहरूको चाप बढेको छ ।
नयाँ मतदाताको संख्या २ लाख ९ हजार ५५२ जना पुगेको छ । मंगलबार मात्रै २३ हजार ६३८ जना थपिएका छन् ।
निर्वाचन आयोगमा मंगलबार राति ८ बजे संकलित विवरणअनुसार नयाँ थपिएका मतदाताहरूमा पुरुष १ लाख २२ हजार ७४० जना र महिला ८६ हजार ७८५ जना रहेका छन् । अन्य २७ जना रहेका छन् ।
अन्तरिम सरकारले आगामी २१ फागुनमा प्रतिनिधिसभा निर्वाचन मिति घोषणा गरेपछि निर्वाचन आयोगले जेनजी समूहलाई लक्षित गरी मतदाता नामावली संकलन कार्य गत असोज ९ गतेबाट सुरु गरेको थियो । मतदाता नामावली संकलन कार्य यही कात्तिक ३० गतेसम्म जारी रहनेछ ।
आयोगका अनुसार १८ वर्ष उमेर पूरा भएका नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त नागरिकहरूले प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयहरूमा गएर नाम दर्ता गर्न सक्नेछन् । सार्वजनिक बिदाको दिन बाहेक बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म नामावली दर्ता गर्न सकिने छ ।
मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रममा कानुन बमोजिम मतदाता हुन योग्यता पुगेका नेपाली नागरिकहरूले आफ्नो नाम दर्ता गर्न सक्ने छन् ।
त्यस्तै अन्य जिल्लाको हकमा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले सेवाग्राहीको चापका आधारमा थप जनशक्ति खटाउने गरी गृह मन्त्रालयमा पत्राचार गरिएको पनि आयोगले जनाएको छ ।







