विभिन्न प्रलोभनमा म्यानमार पुगेका १४ जना नेपालीको उद्धार गरिएको छ ।
उनीहरूलाई म्यानमारस्थित नेपाली राजदूतावास र थाइल्याण्डका सम्बन्धित निकायहरूको सहयोगमा उद्धार गरिएको हो ।
उनीहरूलाई म्यानमारको म्यावडीबाट उद्धार गरी थाइल्याण्डको टाक प्रान्तको अध्यागमन कार्यालय मेसोट हुँदै बुधबार नेपाल पठाइएको थाइल्याण्डस्थित नेपाली राजदूतावासले जनाएको छ । दूतावासका अनुसार म्यानमारमा रहेका थप ११ जना नेपालीको यथाशीघ्र उद्धारका लागि पहल भइरहेको छ ।
म्यानमारको म्यावडीमा रहेका विभिन्न अनलाइन ठगी केन्द्रहरूबाट १९ अक्टोबर २०२५ पश्चात् ३९ जना नेपालीहरू समेत गरी विभिन्न २० देशका दुई हजारभन्दा धेरै विदेशी थाइल्याण्ड प्रवेश गरेका थिए । ती ३८ जना नेपालीलाई पनि नेपाल फर्काउन थाइल्याण्डस्थित सम्बन्धित निकायसँग समन्वय भइरहेको राजदूतावासले जानकारी दिएको छ ।
त्यस्तै दूतावासले श्रम स्वीकृति लिएर मात्रै वैदेशिक रोजगारीमा तथा कसैको प्रलोभनमा नपर्न आग्रह समेत गरेको छ ।







