स्थानीयको सक्रियतामा क्षतिग्रस्त भौतिक संरचना पुन: निर्माण गरिएसँगै आजबाट जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीमा कार्यरत प्रहरी कर्मचारी काममा फर्किएका छन् ।
जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते प्रहरी कार्यालयमा आगजनी र तोडफोड हुँदा प्रहरी हतियार छाडेर भागेका थिए भने त्यस यता प्रहरी विहीन बनेको बिर्तामोडमा स्थानीयकै अगुवाइमा क्षतिग्रस्त भौतिक संरचना पुन: निर्माण गरिएसँगै आजबाट प्रहरी काममा फर्किएका हुन् ।
जेनजी आन्दोलनपछि बिर्तामोडमा प्रहरी नहुँदा नहुँदा शान्ति सुरक्षामा चुनौति बढेको भन्दै युवा व्यवसायी रमेश चौधरी, पदम श्रेष्ठ, सजेश शिवाकोटी, बिपिन बजगाँई, बिर्तामोड-५ का वडाध्यक्ष रोहित प्रसाईं, युवा व्यवसायी मिजास पोखरेलको अगुवाईमा स्थानीय युवाहरुले प्रहरी र ट्राफिक प्रहरी कार्यालय पुन: निर्माण तथा मर्मत सम्भार सुरु गरेका थिए । उनीहरुले करिव ७५ लाख माथि रकम संकलन गर्दै क्षतिग्रस्त भौतिक संरचना पुन: निर्माण गर्दै प्रहरीलाई कार्यालय भित्र्याएका हुन् ।
पुन: निर्माणको ८० प्रतिशत काम सकिएपनि सबै काम सक्न एक करोड ५० लाख रुपैयाँ माथि खर्च हुने निर्माण कार्यमा सक्रिय युवा पदम श्रेष्ठले जानकारी दिए । विजयादशमीका कारण पुन: निर्माणको काम आजबाट रोकिएको र दशैँ लगत्तै थप काम अघि बढाउने उनको भनाई छ । युवाहरुको अथक प्रयास र स्थानीय दाताहरुको सहयोगपछि पुन: निर्माण तथा मर्मत सम्भारको काम गर्दै प्रहरीलाई कार्यालयमा स्वागत गरिएको थियो ।
त्यसअघि बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतरा प्रसाईं, अर्जुनधारा नगरप्रमुख वलदेव सिंह गोम्देनसहित स्थानीय संघसंस्था, स्थानीयवासीहरु, भवन पुन: निर्माणका अगुवा, दाताहरुसहितले बिर्तामोडमा र्यालीसहित इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक विजय श्रेष्ठ, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख गणेश पौडेलसहितको प्रहरी टोलीलाई स्वागत गर्दै कार्यालयमा प्रवेश गराएका छन् ।







