यसपालि दशैँको टीकाको भोलिपल्टदेखि देशका केही ठाउँमा मुसल्धारे वर्षाको सम्भावना देखिएको मौसमविद्हरुले बताएका छन् ।
गएको वर्षको असोजको जस्तै वर्षा हुने गरी प्रणाली विकास भइरहेको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विषयका सहप्राध्यापक विनोद पोखरेलले जानकारी दिए ।
उनका अनुसार तीन वटा प्रणाली विकास भइरहेकोले भोलिदेखि हल्का, मध्यम हुँदै विजयादशमीको बेलुकादेखि पूर्वी नेपालमा मुसल्धारे वर्षाको सम्भावना छ । यो प्रणालीको असर तीन-चार दिनसम्म देखिने सम्भावना छ ।
यस्तै जलवायु विपद् विज्ञ डा.धर्मराज उप्रेतीले पनि दशैंको टीकाको भोलिपल्टदेखि मुसल्धारे वर्षा गराउने गरी प्रणाली विकास भइरहेको जानकारी गराएका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उप्रेतीले असोज १८ गतेअघि पनि ठाउँ-ठाउँमा वर्षाको सम्भावना रहेको र १८ गतेदेखि पूर्वी नेपाल हुँदै वर्षाको अत्यधिक सम्भावना रहेको उल्लेख गरेका छन् ।
भारतको मौसम विभागले असोज १७ देखि १९ सम्म सिक्किम, पश्चिम बङ्गाल, बिहारमा अत्यधिक वर्षाको चेतावनी जारी गरिसकेको छ । नेपालमा भने असोजको १७ गते रातिदेखि कोशी प्रदेशबाट प्रवेश गरी असोज १९ र २० गतेसम्म लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको तल्लो भागसम्म पुग्ने देखिएको उप्रेतीले जानकारी दिए ।







