आज ६१ औँ राष्ट्रिय बाल दिवस मनाईंदै छ ।
‘बालबालिकामा लगानी: सुनिश्चीत भविश्यको थालनी’ नाराका साथ दिवस मनाउन लागिएको हो । नेपालले हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसको रूपमा मनाउने गरेको छ ।
संयुक्त राष्ट्रसङ्घको बाल अधिकारसम्बन्धी महासन्धि, १९८९ लाई नेपालले अनुमोदन गरेको दिन भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउने निर्णय भएको हो । त्यही अनुसार २०६३ सालदेखि राष्ट्रिय बाल दिवस हरेक वर्षको भदौ २९ गते मनाउन थालिएको हो । २०६४ सालदेखि हरेक वर्ष एक विषयमा मूल नारा बनाएर राष्ट्रिय बालदिवसका कार्यक्रम आयोजना गर्न थालिएको छ ।
२०४७ साल भदौ २९ गते नेपालले संयुक्त राष्ट्रसंघको बालअधिकारसम्बन्धी महासन्धिलाई अनुमोदन गरेको दिनलाई बालबालिकाको विशेष दिनको रूपमा लिइ राष्ट्रिय बाल दिवसको रूपमा मनाउने गरिएको हो ।
नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकको रूपमा आत्मसात् गर्दै हरेक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तित्व विकासको हक हुने लगायतको प्रत्याभूति गरेको छ ।







