नयाँ सरकार गठन भएसँगै देशभर जनजीवन सामान्य बन्न थालेको छ ।
आन्दोलनपछि मुलुकका विभिन्न क्षेत्रमा केही दिनअघिदेखि लगाइको कर्फ्यु र निषेधाज्ञा धेरैजसो जिल्लामा हटेको छ । आम नागरिक आफ्नो पेसा व्यवसायमा फर्किएका छन् । शान्ति सुरक्षाको अवस्था सामान्य रहेको छ ।
गत मंगलबारदेखि ठप्प रहेको सार्वजनिक सवारी साधनको आवागमन काठमाडौँ उपत्यकासँगै देशका विभिन्न जिल्लाहरुमा शनिबारदेखि सुरु भएको छ । शुक्रबार फाट्टफुट्टमात्र चलेका सवारी साधन शनिबार बिहानदेखि बाक्लो संख्यामा चलेका छन् ।
भ्रष्टाचारविरुद्ध र सुशासन प्रवर्द्धनको नाराका साथ अघि बढेको जेनजी पुस्ताको मागअनुरूप पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीका नेतृत्वमा नयाँ सरकार गठन भएको छ ।
आमनागरिकको चाहनाअनुरूप मुलुकमा शान्ति सुव्यवस्था र कानुनी राज्यको अनुभूति दिलाउँदै वर्तमान सरकारले तोकिएको समयसीमाभित्र निर्वाचन गराई सत्ता हस्तान्तरण गर्ने छ । मध्यावधि चुनाव फागुन २१ गते तोकिएको छ ।







