जेनजी प्रदर्शनकारीले वैदेशिक रोजगार विभाग समेत ध्वस्त पारेका छन् ।
मंगलबार प्रदर्शनकारीले ताहाचलमा रहेको विभागमा तोडफोड तथा आगजनी गरेका हुन् । जसका कारण विभागको तल्लो भवन पूर्णरूपमा क्षति पुगेको विभागका महानिर्देशक कमल भट्टराईले जानकारी दिए ।
आगजानी र तोडफोडका कारण विभागमा पूर्णरूपमा क्षति पुगेको र अहिले आंशिक रूपमा सेवा प्रवाह भइरहेको उनले बताए । आगजनीबाट प्रशासन शाखा, मुद्दा शाखा तथा महानिर्देशक कार्यकक्ष पूर्णरूपमा ध्वस्त भएको छ ।
विभागभन्दा माथि रहेको वैदेशिक रोजगार कार्यालयमा भने केही भएको छैन । जसले गर्दा श्रम स्वीकृतिको सेवा प्रवाहमा कुनै समस्या नआएको भट्टराईले बताए ।
वैदेशिक रोजगार ठगीसम्बन्धी थुनुवाहरू समेत भागेका छन् । पक्राउ परेर कालीमाटी प्रहरी वृत्तमा रख्ने गरिएको थियो । कालीमाटी प्रहरी वृत्तबाट थुनुवाहरू भागेसँगै विभागका थुनुवाहरू समेत भागेको सूचना अधिकारी टीकाराम ढकालले जानकारी दिए ।
अहिले वैदेशिक रोजगार सम्बन्धी उजुरीहरूका विषयमा सामान्य तरिकाले काम भइरहेको उनको भनाइ छ । उजुरी आएपछि म्यानपावर व्यवसायीलाई फोन गरेर सोधपुछ गर्ने गरिएको ढकालले बताए ।







