जेनजी भनिने नवयुवा पुस्ताको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा १९ जनाको मृत्यु भएको छ ।
काठमाडौँको बानेश्वर क्षेत्रमा र सुनसरीमा समेत गरी उनीहरूको मृत्यु भएको हो । प्रहरीले भने आधिकारिक रूपमा पुष्टि गरिसकेको छैन । अस्पतालहरूको विवरण अनुसार ज्यान गुमाउनेको संख्या १९ जना पुगेको हो ।
अस्पतालहरूको विवरण अनुसार काठमाडौँको राष्ट्रिय ट्रमा सेन्टरमा आठ जना, एभरेस्ट अस्पताल बानेश्वरमा तीन, सिभिल अस्पतालमा तीन, त्रिवि शिक्षणमा एक र केएमसीमा दुई जनाको मृत्यु भएको छ भने इटहरीको सुनसरीमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको हो ।
अस्पतालहरूको विवरण अनुसार विभिन्न अस्पतालमा गरी ३ सय ४७ जना घाइतेको उपचार भइरहेको छ । अस्पतालहरूका अनुसार मृत्यु हुने र गम्भीर अवस्थाका धेरै घाइतेको टाउको र छातीमा गोली लागेको छ ।
जेनजीहरू सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा प्रदर्शनमा उत्रिएका हुन् । सन् १९९७ देखि सन् २०१२ सम्म जन्मिएकाहरूलाई ‘जेन जी’ पुस्ता भनिन्छ ।







