बुधबारदेखि मनसुन फेरि सक्रिय भएको छ ।
गएराति र अहिले पनि केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ ।
कर्णाली चिसापानी वर्षामापन केन्द्रमा मध्यमदेखि ठूलो वर्षा मापन भएकाले त्यस क्षेत्र भई बहने स-साना खोला आसपास र तटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
पछिल्लो १२ घण्टामा कैलालीसँगै लमजुङ, काठमाडौँ, झापा, ताप्लेजुङ, भोजपुर, धादिङ, स्याङ्जा, गोरखा, काभ्रेपलाञ्चोक, पाल्पा, दाङ, जाजरकोट लगायतका ठाउँमा धेरै पानी परेको छ । केही ठाउँमा अहिले पनि पानी परिरहेको छ ।
आज दिउँसो लुम्बिनी प्रदेशको तराई तथा सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई ठाउँमा ठूलो पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहडी भू-भागका साथै लुम्बिनी र कोशीको तराई भू-भागका एक-दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । अरु ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ ।







