अस्ट्रेलियामा चलिरहेको टप इण्ड टी-२० शृङ्खलाको आफ्नो तेस्रो खेलमा नेपाल मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएको छ ।
मेलबर्नले दिएको एक सय ७६ रनको लक्ष्य पछ्याएको नेपालले सात विकेट गुमाएर एक सय ४४ रन मात्रै बनाउन सकेको हो ।
नेपालका आशिफ शेखले ५३ रनसहित अर्धशतक बनाए भने कप्तान रोहितकुमार पौडेलले ३३ र कुशल भुर्तेलले २५ रन बनाए । मेलबर्नका डग वारेन र अस्टिन एन्लेजाकले समान दुई तथा आर्यन शर्मा र क्रिस होवे समान एक विकेट लिएका थिए ।
त्यसअघि डार्बिनमा टस जितेर ब्याटिङ गरेको मेलबर्नले सात विकेट गुमाउर एक सय ७५ रन बनायो । मेलबर्नका ब्लेक म्याकडोनाल्डले ७४ रन र थोमस रोजर्सले ६५ रन बनाए । नेपालका सन्दीप लामिछानेले तीन तथा सोमपाल कामी र शाहब आलमले समान एक विकेट लिएका थिए ।
योसँगै प्रतियोगीमा नेपाल लगातार तेश्रो पटक पराजित भएको छ । नेपाल आफ्नो दोस्रो खेलमा बङ्गलादेश ‘ए’सँग २९ रनले पराजित भएको थियो । पहिलो खेलमा आयोजक टोली नर्थन टेरिटोरी स्ट्राइकसँग नेपाल ४२ रनले पराजित भएको थियो ।







