गत वर्षको बदला लिँदै सलहेस युवा क्लब सिरहाले तेस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
चर्चब्वाइज क्लब ललितपुरलाई २-० गोल अन्तरले पराजित गर्दै सलहेसले उपाधि जितेको हो ।
दोस्रो हाफको ७९ औं मिनेटमा सलहेसका सुनिल खड्काले गोल गर्दै खाता खोलेका थिए । सुनिलले डि बक्स बाहिरबाट प्रहार गरेर गोल गर्न सफल भएका हुन् । सलहेसको तर्फबाट ९० औं मिनेटमा युसुफ मल्लिकले दोस्रो गोल गर्दै आफ्नो टिमको जित सुनिश्चित गर्न सफल भए । उनले हेडमार्फत गोल गरेका हुन् ।
खेलको ८१ औं मिनेटमा सलहेसका फागुराम थारू र चर्चब्वाइजका चन्दन दासले रेडकार्ड पाए र खेलबाट एकसाथ बाहिरिए । रेफ्री श्याम दनुवारले दुवै जनालाई रेडकार्ड दिएका थिए ।
सलहेसले ७ लाख २ हजार ८२ रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता चर्चब्वाइजले ३ लाख ५० हजार २ सय ८२ रुपैयाँमा चित्त बुझाउनु पर्यो । उपाधि विजेता र उपविजेतालाई प्रतिनिधिसभाका सांसद एवं पूर्वमन्त्री योगेश भट्टराई र कोशी प्रदेशका उद्योग कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगामलगायतले ट्रफी तथा पुरस्कार वितरण गरेका थिए ।
खेलको सर्वोत्कृष्ट खेलाडी सलहेसका छिरिङ गुरुङ भए । उनले यमाहाको मोटरसाइकल पाए । वेष्ट गोलकिपर सलहेसकै रेम्वो चौधरी हुँदा वेष्ट डिफेन्डर आविष्कार खड्का र मिडफिल्डर युवराज ढकाल भएका छन् ।
वेष्ट फरवार्ड आकाश राई भए भने हाइस्कोरर पाँच गोलसहित सलहेसका युसुफ र वेष्ट कोच राजीवकुमार यादव भए । उदाउँदो खेलाडीको उपाधि भने आयोजक तेल्लोकबाट खेलेका सुहाङ लिम्बू भए । उनी तेल्लोकका गोलकिपर हुन् ।







