अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी-२० सिरिजमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ ।
नेपाल बंगलादेश ‘ए’ सँग २९ रनले पराजित भएको हो ।
जितका लागि १८४ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १५४ रन मात्र बनायो । नेपालका लागि कुशल मल्लले अविजित अर्धशतक बनाएपनि पर्याप्त भएन ।
मल्लले ४७ बलमा अविजित ५९ रन बनाए । बंगलादेशका रकिबुल हसनले ३ विकेट लिए । सेफ हसन, रिपोन मन्डल र मृत्युन्जय चौधरीले १-१ विकेट लिएका थिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङको निम्तो पाएको बंगलादेशले २० ओभरमा ६ विकेट गुमाएर १८३ रन बनाएको थियो ।
बंगलादेशका लागि ओपनर जिशाद आलमले सर्वाधिक ७१ रन बनाए भने अफिफ होसेनले अविजित ४८ रन बनाए ।
नेपालका लागि रिजन ढकालले २ विकेट लिँदा नन्दन यादव, करण केसी र सन्दीप लामिछानेले १-१ विकेट लिए । नेपाल पहिलो खेलमा शुक्रबार एनटी स्ट्राइकसँग पराजित भएको थियो ।







