झापाको बिर्तामोड नगरपालिका-३ स्थित शान्ति टोल विकास संस्था ‘ए’ ब्लकको तेस्रो साधारण सभाबाट नन्दकुमार अधिकारी अध्यक्षमा चयन भएका छन् ।
सभाले अधिकारीको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
त्यस्तै उपाध्यक्षमा लिलाराज भट्टराई, सचिवमा रामकुमार पराजुली र कोषाध्यक्षमा भारती उप्रेती केसी चयन भएका हुन् ।
त्यसैगरी सदस्यहरूमा सोनम उप्रेती, टिका उप्रेती, मनोज बुढाथोकी, नीलमकुमार डाँगी र कमला कार्की रहेका छन् ।
२०७० साल भदौ २५ गते निवर्तमान अध्यक्ष दिनानाथ ओझाको अध्यक्षतामा गठन भएको नौ सदस्यीय टोल समितिले तीन वर्षे कार्यकाल पूरा गरेपछि शनिबार सम्पन्न साधारण सभाले नयाँ नेतृत्व चयन गरेको हो ।
नयाँ कार्यसमिति चयनका लागि लिङ्कन मन्टेश्वरी विद्यालयका सञ्चालक तथा पत्रकार सरोज पौडेलको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गर्दै सर्वसम्मत कार्यसमिति चयन गरेको थियो ।
साधारण सभामा अध्यक्ष ओझाले सामाजिक प्रतिवेदन प्रस्तुत गर्दै तीन वर्षे कार्य प्रगतिका बारेमा जानकारी दिए ।
बिर्तामोड-१ र ३ को सीमामा रहेको साँघुरो बाटो खोल्ने कार्य नगरसँग समन्वय गरी सम्पन्न गरिएको, टोलभित्र ६० वटा डस्टबिन राखिएको, ५१२ फिट बाटोमा दुईवटा कल्भर्ट र डोरन निर्माण गरिएको सामाजिक प्रतिवेदन उल्लेख गरिएको छ ।
त्यस्तै अर्थ संयोजक लीला भट्टराईले टोल विकास समितिको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । टोलभित्र सिसिटिभी जडान, महिला दिदीबहिनीलाई उद्यमशीलता तालिम, स्वरोजगारमूलक कार्यक्रम सञ्चालन, बसोबास गर्ने घरधुरीहरूको रेकर्ड संकलन, धार्मिक भ्रमण तथा आपसी सद्भाव कायम गर्ने कार्य अगाडि बढाइने समाजिक प्रतिवेदनमा जनाइएको छ ।
अर्थ संयोजक भट्टराईले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन अनुसार हालसम्म २ लाख ६२ हजार ५ सय ७० रुपैयाँ नाफा आर्जन गरेको जनाइएको छ ।
टोलकी जेष्ठ नागरिक तिलमाया कार्कीले पानसमा बत्ती बालेर उद्घाटन गरेको कार्यक्रममा वडा नं.३ का वडा सदस्य हरि बाँस्कोटाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रमुख अतिथि बाँस्कोटाले समाज निर्माण हरेक नागरिकको दायित्व भएको बताउँदै टोल समितिले वडासँग समन्वय गरी नागरिकका साना समस्यालाई समाधान गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा छिमेकी टोल विकास समितिका अध्यक्ष परशुराम घिमिरे, भीमसेन तिम्सिना, वडा सचिव भीम अधिकारी, मोफसल अनलाइनका सम्पादक भरत प्रसाई, सूर्योदय टेलिभिजनका उप-सम्पादक देव बास्कोटा, स्थानीय प्रतिनिधि तथा टोलवासीहरूको बाक्लो उपस्थिति थियो ।
संस्थापक अध्यक्ष कुमार थापाले स्वागत गरेको कार्यक्रमको सञ्चालन नन्दकुमार अधिकारीले गरेका थिए । निर्वाचन समिती संयोजक पौडेलले बधाई शुभकामना दिएका थिए ।







