केही दिनदेखि झापामा लगातार क्षति गर्दै आएको जंगली हात्तीले हल्दिबारीमा पाँचवटा घर भत्काएको छ भने एक महिला घाइते भएकी छन् ।
गएराति १२:३० बजे हल्दिबारी गाउँपालिका वडा नं.३ बाघडाँडामा तीनवटा जंगली हात्ती आई निमाई बानियाको टिनको छाना तथा टिनको घेराबेरा भएको घर, खरको छाना र टिनको घेराबेरा भएको भान्साघर, सोही स्थान बस्ने हिरालाल मिश्रीको खरको छाना र बाँसको टाँटीबेरा भएको भान्सा घर भत्काएको छ ।
त्यस्तै बिहानको राति ३ बजे हल्दिबारी गाउँपालिका वडा नं.२ भेलागुडी सिमसारमा तीन वटा जंगली हात्ती आई खेम गौतमको टिनको छाना र बाँसको टाँटीबेरा भएको घर र सोही स्थान बस्ने नरेश खड्काको इटा सिमेन्टले बनेको टिनको छाना भएको १ तले घरको पूर्वपट्टिको वाल भत्काएको छ ।
हात्तीले वाल भत्काउँदा खड्काकी श्रीमती ४२ वर्षीया अम्विका खड्का घाइते भएकी छन् । उनको दाहिने हातको पाखुरा र कुममा चोट लागेको छ ।







