जल तथा मौसम पूर्वानुमान महाशाखाले अबका तीन दिनसम्म नै मनसुन सक्रिय रहने जनाएको छ ।
अस्तिदेखि नै देशका विभिन्न ठाउँमा पानी पर्नेक्रम बढेकोमा हिजो र आज धेरै ठाउँमा वर्षा भएको छ । लगातारजसो पानी परेका क्षेत्रमा बाढी, पहिरो र डुवानको जोखिम बढेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।
यसैबीच पूर्वी नेपालमा भारी वर्षाका कारण नदीहरुमा जलसतह चेतावनी स्तरको नजिक पुगेको छ । झापासहित कोशी प्रदेशका केही जिल्लाहरुमा भारी वर्षा भएको छ । भारी वर्षासँगै झापाका विभिन्न नदीहरुमा पानीको सतह बढ्दो क्रममा रहेको छ ।
महाशाखाका मौसमविद् शान्ति कँडेलका अनुसार अहिले पनि कोशी र मधेश प्रदेशका केही ठाउँमा सामान्य वर्षा भइरहेको छ ।
बाग्मती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका एक-दुई ठाउँमा पनि हल्का वर्षा भइरहेको छ । अबका तीन दिनसम्म नै मनसुन सक्रिय रहने मौसमविद् कडेलले जानकारी दिए ।
त्यस्तै आज दिउँसो कोशी, मधेश, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेकाले सावधानी अपनाउन अनुरोध गरिएको छ ।







