इङ्ग्ल्यान्डमा चलिरहेको वर्ल्ड च्याम्पियनशिप अफ लिजेन्ड्समा पाकिस्तान च्याम्पियन्स फाइनलमा पुगेको छ ।
आज हुने तय भएको पहिलो सेमिफाइनलमा इन्डियन च्याम्पियन्सले पाकिस्तानसँग खेल्न अस्वीकार गरेपछि पाकिस्तान च्याम्पियन्स लिग चरणको अङ्कका आधारमा फाइनल पुगेको हो ।
पाकिस्तान च्याम्पियन्सले लिग चरणका सबै चार खेल जित्दै तालिकाको शीर्ष स्थानमा थियो । इन्डियन्स च्याम्पियन्स भने खेलेको एक मात्र खेलमा विजयी भएर चौथो स्थानमा छ । इन्डियन्स च्याम्पियन्सले लिग चरणमा पनि पाकिस्तानसँग खेल्न अस्वीकार गरेको थियो ।
काश्मीरको पहलगाममा आतंकवादी आक्रमणपछि चुलिएको यी दुई छिमेकीबीचको तनावको असर खेलमा समेत परेको हो ।
भारतले पहलगाम हमलामा पाकिस्तान संलग्न रहेको आरोप लगाउँदै आएको छ । उक्त आक्रमणलाई कारण देखाउँदै भारतीय च्याम्पियन्स टिमले पाकिस्तानसँगको खेल खेल्न अस्वीकार गरेको हो ।
भारतले नखेल्ने भएपछि आयोजकले सेमिफाइनलका निम्ति बिक्री गरेका टिकट दर्शकलाई फिर्ता गरेको छ । दुई देशबीचको राजनीतिक तिक्तताका कारण भारत र पाकिस्तानले सन् २०१३ देखि नै दुईदेशीय क्रिकेट शृंखला खेलेका छैनन् ।







