ताप्लेजुङको सरस्वती माध्यमिक विद्यालयकी शिक्षिका भावना विश्वकर्माको दुर्घटनामा मृत्यु भएको छ ।
सदरमुकाम फुङलिङबाट सिरिजङ्गा गाउँपालिका-३ सिकैचा जाँदै गरेको मे१ज ३२९६ नम्बरको जिप दुर्घटना हुँदा ३० वर्षीया विश्वकर्माको मृत्यु भएको हो । जिप चालक फावाखोला बस्ने ३३ वर्षीय सविन विष्ट घाइते भएका छन् ।
आज बिहान १०:३० बजे विद्यालय जाँदै गर्दा भावना चढेको जिप फुङलिङ-११ फावाखोलास्थित फुङलिङ-फावाखोला भित्री सडक खण्डमा दुर्घटनामा परेको हो ।
जिप ब्रेक फेल भई बाटोबाट ५० मिटर तल खसी दुर्घटना भएको प्रहरीले जनाएको छ । फुङलिङ नगरपालिका-११ फावाखोलाका वडाध्यक्ष युवराज भट्टराईका अनुसार भावनालाई उपचारका लागि जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार मृतक भावना फुङलिङ नगरपालिका-११ फावाखोलाकै हुन् । फावाखोलाकै चालक विष्टको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।







