वैदेशिक रोजगार व्यवसायी संघ झापाले राष्ट्रिय आविष्कार केन्द्रलाई एक लाख पॉच हजार रूपैयाँ सहयोग गरेको छ ।
वीरगञ्ज कृषि औजार कारखाना पुन: सञ्चालन गर्न डा.महावीर पुनले सञ्चालन गरेको पुस्तक बिक्री अभियानमा वैदेशिक रोजगार व्यवसायी संघ झापाले एक लाख पॉच हजार रूपैयाँ बराबरको पुस्तक खरिद गरेर सहयोग गरेको हो ।
वैदेशिक रोजगार व्यवसायी संघ झापाका अध्यक्ष धनबहादुर पन्धाकले संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको बताए ।
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा.महावीर पुनले १५ महिनाअघि अभियान सञ्चालन गरेको र ४३ औं जिल्लाको रूपमा झापा आएको बताएका छन् । आफूले आफ्नो आत्मकथा २ लाख २० हजार प्रति पुस्तक बिक्री गरेको र हालसम्म खर्च कटाएर ११ करोड जम्मा गरेर वीरगञ्ज कृषि औजार कारखाना मर्मत गरी नयॉ कृषि औजार बनाउन सुरू गरी परीक्षण समेत गरेको बताए ।
रकम हस्तान्तरण कार्यक्रममा संघका प्रथम उपाध्यक्ष राजन सिलवाल, द्वितीय उपाध्यक्ष प्रकाश राई, महासचिव नीरकुमार खत्री निरनलगायत पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको सहभागिता रहेको थियो ।







