मेचीनगरमा अटोसँग ठोक्किएर एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।
शनिबार साँझ ५:१० बजे मेचीनगर नगरपालिका-१२ माथिल्लो धाइजनस्थित मेची राजमार्गमा चारआलीबाट बुधबारेतर्फ जाँदै गरेको प्र.१-०१-००२ ह.५५७१नं.को अटो र बिपरीत दिशाबाट आउँदै गरेको मे.८ प.८०३नं.को मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका-११ बस्ने ३४ वर्षीया भिमबहादुर सार्की घाइते भएका थिए । उनलाई बीएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा चिकित्सकले लानेबित्तिकै मृत घोषणा गरेका थिए ।
अटोमा सवार बुद्धशान्ति-३ बस्ने ४९ वर्षीया निर्मला बिक र उनकी छोरी १७ वर्षीया दिपा बिक घाइते भएका छन् । दुबै जनाको बीएण्डके पोलिक्लिनिक चारआलीमा उपचार भइरहेको छ ।
अटो चालक बुद्धशान्ति-१ बस्ने ४० वर्षीय युवराज घिमिरे, अटो र मोटरसाइकललाई प्रहरी चौकी चारआलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।







