चट्याङले लागेर झापामा दुई जना घाइते भएका छन् भने एउटा गाई मरेको छ ।
बुधबार साँझ ६:१० बजे झापा बुद्धशान्ति गाउँपालिका वडा नं.४ सट्टाभर्ना बस्ने ६० वर्षीय पुण्य पौडेल आफ्नै गाईगोठमा काम गर्ने क्रममा हावाहुरीसहित आएको चट्याङ लागेर घाइते भएका थिए ।
उनलाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोडमा ल्याइएको छ । उनको दुबै आँखा र दाहिने हातमा चोट लागेको छ ।
Advertisement
त्यस्तै सोही समयमा शिवसताक्षी नगरपालिका वडा नम्बर ७ टेक्रा बस्ने ४४ वर्षीया डम्बरकुमारी भुजेलको घर नजिकै रहेको गाईको गोठमा बाँधिराखेको एउटा गाई वर्षासँगै परेको चट्याङले लागेर घट्नास्थलमै मरेको छ ।
घरभित्र बसिरहेकी डम्बरकुमारी समेतलाई चट्याङले भेटी उनी सामान्य घाइते भएकी छन् । मुखमा सामान्य जलेको डम्बरकुमारीको स्थानीय मेडिकलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।







