झरीको समयमा मानिसहरूले फरक-फरक भावनाहरू अनुभव गर्छन् । कसैलाई झरीले उदास बनाउँछ भने कसैलाई रोमाञ्चक र आनन्दित बनाउँछ । वर्षाका थोपाहरू विभिन्न ठाउँमा टक्राउँदा आउने एक खालको आवाज, पानीका थोपाहरूको स्पर्श र वातावरणको शीतलताले मानिसको मनमा एक विशेष अनुभूति जगाउँछ ।
यो रोमाञ्चक अनुभवका पछाडि वैज्ञानिक कारणहरू के हुन सक्छन् ?
१. प्रकृतिसँगको सम्बन्ध
मानिसहरू प्रकृतिसँग गहिरो रूपमा जोडिएका हुन्छन्, जसलाई बायोफिलिया हाइपोथेसिस ले व्याख्या गर्छ । यो सिद्धान्तअनुसार मानिसहरू प्राकृतिक तत्वहरूसँग जोडिन रमाउँछन्, किनभने हाम्रो विकास प्राकृतिक वातावरणमा भएको हो । झरीले प्राकृतिक वातावरणलाई ताजा र जीवन्त बनाउँछ, जसले मानिसको मनमा सकारात्मक भावनाहरू उत्पन्न गर्छ । वर्षाको पानी, हरियाली र शान्त वातावरणले तनाव कम गर्छ र मानसिक शान्ति प्रदान गर्छ ।
२. भावनात्मक सम्झनाहरू
झरीले धेरै मानिसहरूमा बाल्यकालका सम्झनाहरू ताजा गर्छन् । पानीमा भिज्दै वनपाखा तथा बजारतिर डुलेका सम्झनाहरू हुन्छन् । पानीका डोबिल्काहरूमा हामफालेका । कुलो डोर्याउँदै साना गरा बनाएर रोपाइँ गरी खेलेका यादहरू झरीले सम्झना गराउन सक्छन् । यस्ता यादहरूले रोमाञ्चित बनाउन सक्छ । छुट्टै खालको आनन्दको महसुस गराउन सक्छ ।
मनोवैज्ञानिक अध्ययनहरूले देखाएका छन् यस्ता भावनाले डोपामाइन हर्मोनको स्रावलाई बढाउँछ, जसले आनन्द र रोमाञ्चक अनुभव गराउँछ । उदाहरणका लागि, २०१८ मा जर्नल अफ पर्सनालिटी तथा सामाजिक साइकोलोजीमा प्रकाशित एक अध्ययनले ‘नोस्टाल्जिया’ले मानिसको मूडलाई सुधार्ने र सकारात्मक भावनाहरूलाई प्रोत्साहन गर्ने कुरा पुष्टि गरेको छ ।
३. इन्द्रीय उत्तेजना
झरीले हाम्रा इन्द्रीयहरूलाई उत्तेजित गर्छ। पानीका थोपा छालामा पर्ने अनुभव र माटोको सुगन्धले हाम्रा इन्द्रीयहरूलाई सन्तुष्ट बनाउँछ । माटोमा रहेका एक खालका ब्याक्टेरियाहरूबाट उत्पन्न हुने एक विशेष गन्ध ‘पेट्रिकोर’ले मानिसको मस्तिष्कमा सकारात्मक प्रभाव पार्छ । २०१५ मा नेचर माइक्रोबायोलोलीमा प्रकाशित एक अध्ययनले पेट्रिकोरको गन्धले तनाव कम गर्ने र मस्तिष्कमा सेरोटोनिनको स्तर बढाउने कुरा उल्लेख गरेको छ ।
४. तापक्रम र शारीरिक प्रतिक्रिया
झरीले वातावरणको तापक्रमलाई कम गर्छ, जसले शारीरिक रूपमा स्फूर्ति प्रदान गर्छ । गर्मीको समयमा, जब शरीर तातोबाट थकित हुन्छ, झरीको शीतलताले शरीरलाई राहत दिन्छ । यो शारीरिक राहतले मस्तिष्कमा एन्डोरफिन हर्मोनको स्रावलाई प्रोत्साहन गर्छ, जसले आनन्द र रोमाञ्चक अनुभव गराउँछ ।
५. मस्तिष्कको डोपामाइन प्रणाली
झरीको समयमा मानिसहरूले नयाँ अनुभवहरू जस्तै:- पानीमा खेल्ने, नाच्ने वा भिज्दै हिँड्ने गर्छन् । यी गतिविधिहरूले मस्तिष्कको डोपामाइन प्रणालीलाई सक्रिय बनाउँछ । डोपामाइन एक न्यूरोट्रान्समिटर हो जसले आनन्द, प्रेरणा, र रोमाञ्चक अनुभवहरूसँग सम्बन्धित छ । 2017 मा ‘न्युरोसाइन्स एण्ड बायोबिह्यविअरल रिभ्यूज’मा प्रकाशित एक अध्ययनले नयाँ अनुभवहरूले डोपामाइनको स्रावलाई बढाउने र सकारात्मक भावनाहरूलाई प्रोत्साहन गर्ने कुरा उल्लेख गरेको छ।
६. सामाजिक सम्बन्ध
झरीको समयमा मानिसहरू प्रायः परिवार वा साथीहरूसँग समय बिताउँछन् । घरमा बसेर चिया पिउने, कुराकानी गर्ने, वा सँगै झरीको मजा लिने गतिविधिहरूले सामाजिक बन्धनलाई बलियो बनाउँछ । सामाजिक अन्तरक्रियाले मस्तिष्कमा अक्सिटोसिन हर्मोनको स्रावलाई बढाउँछ, जसले प्रेम र खुशीको अनुभव गराउँछ।
७. सांस्कृतिक र साहित्यिक प्रभाव
धेरै संस्कृतिमा वर्षालाई रोमान्टिक र सौन्दर्यपूर्ण रूपमा चित्रण गरिन्छ । कविता, गीत र साहित्यमा वर्षालाई प्रेम, सौन्दर्य र जीवनको प्रतीकका रूपमा प्रस्तुत गरिन्छ। उदाहरणका लागि, नेपाली गीतहरू जस्तै ‘बादल, वर्षा पानी…, झमझम पानी पर्यो असारको रात… जस्ता धेरै गीतहरू छन् । यो सांस्कृतिक प्रभावले झरीप्रति सकारात्मक दृष्टिकोण बनाउँछ।
८. झरीको नकारात्मक प्रभाव
यद्यपि झरीले धेरैलाई रोमाञ्चक बनाउँछ, कतिपयलाई यसले उदास वा चिन्तित पनि बनाउन सक्छ । यो अवस्था सिजनल इफेक्टिभ डिसअर्डरसँग सम्बन्धित हुन सक्छ । जहाँ कम प्रकाश र चिसो मौसमले मूडलाई प्रभावित गर्छ । झरीसँगै आउने बाढी, पहिलो जस्ता विपत्तिको डर, झरीले आफ्नो पेशा तथा दैनिकीमा पार्ने असरका कारण मानिसको दिमागमा यसको नकारात्मक असर पनि परिरहेको हुन्छ ।







