यस वर्षको मनसुन मध्य जेठमै नेपाल भित्रिएको छ । सरदर भन्दा १५ दिन अगाडि नै मनसुन नेपाल भित्रिएको हो ।
गएराति पूर्वी नेपालबाट मनसुन प्रवेश गरेको र कोशी प्रदेशका धेरैजसो भागमा फैलिसकेकोे जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन भित्रिएसँगै कोशीका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा पनि भएको छ ।
नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ तारिख अर्थात् यसवर्ष जेठ ३० गते हो । तर मध्य जेठमै मनसुन नेपाल प्रवेश गरेको हो । नेपालका अन्य भागमा मनसुनको प्रभाव विस्तार हुन अझै केहीदिन लाग्ने महाशाखाले जनाएको छ ।
अहिले देशका बाँकी भागमा पश्चिमी र स्थानीय वायूको प्रभाव छ । यो वर्ष सरदरभन्दा बढी पानी पर्ने प्रक्षेपण छ । यस वर्षको मनसुनबाट २० लाख नागरिक प्रभावित हुने अनुमान गरिएको छ ।
बङ्गालको खाडीबाट आएको हावाको बहावले बोकेर ल्याएको मौसमी प्रभावबाट बन्ने मनसुन सामान्यतया मे ३१ तारिखमा भारतको केरला आइपुग्छ तर भारतको मौसम विभागका अनुसार दक्षिणी केरला राज्यमा सरदर एक हप्ताअगावै मनसुन भित्रिएको थियो ।







