रोयल च्यालेन्जर्स बेंगलुरु भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार भएको पहिलो क्वालिफायरमा पञ्जाब किङ्सलाई ८ विकेटले हराउँदै बेंगलुरु उपाधिको एक कदम नजिक पुगेको हो ।
पञ्जाबले दिएको १०२ रनको लक्ष्य बेंगलुरुले १० ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । फिलिप साल्टले अविजित ५६ रन बनाए । मयंक अगरवालले १९ रन बनाउँदा कप्तान रजत पाटिदार १५ रनमा अविजित रहेका थिए । पञ्जाबका लागि काइल जेमिसन र मुशीर खानले १-१ विकेट लिएका थिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पञ्जाब १४.१ ओभरमा १०१ रनमा अलआउट भएको थियो । मार्कस स्टोइनिसले सर्वाधिक २६ रन बनाए भने प्रभसिमरन सिंह र अजमतुल्लाह ओमरजाइले समान १८ रन बनाएका थिए ।
बेंगलुरुका लागि जोश हेजलवूड र सुयाश शर्माले ३-३ विकेट लिँदा यश दयालले २ तथा भुवनेश्वर कुमार र रोमारियो शेपहर्डले १-१ विकेट लिएका थिए ।
यस हारका बाबजुद पञ्जाबका लागि अर्को एक मौका हुनेछ । पञ्जाबले अब एलिमिनेटरमा हुने गुजरात टाइटन्स र मुम्बई इन्डियन्सबीचको विजेतासँग दोस्रो क्वालिफायरमा खेल्नेछ । गुजरात र मुम्बईबीचको एलिमिनेटर खेल आज हुनेछ ।







