ताप्लेजुङको पाथीभरा जाँदै गरेको जिपमा बिजुलीको पोलबाट करेन्ट लाग्दा चार जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
सदरमुकाम फुङलिङबाट दर्शनार्थी लिएर पाथीभरा जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो जिप सेवारो चोक भन्ने स्थानमा बिजुलीको पोलबाट लत्रिएको तारमा अल्झिएर आगो लागेको थियो ।
उक्त घटनामा परी चार जनाको मृत्यु भएको र दुई जना गम्भीर घाइते भएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवम् एसएसपी भीमबहादुर दाहालले जानकारी दिए ।
कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा ललितपुर महानगरपालिका-१० बस्ने सबिना आचार्यकी छोरी १६ वर्षीया आध्या आचार्य, झापाको भद्रपुर नगरपालिका-१५ बस्ने ७० वर्षीय विनोद पौडेल, विनोद पौडेलकी श्रीमति ६९ वर्षीया सरिता पौडेल र चालक ताप्लेजुङको फुङलिङ नगरपालिका-१० बस्ने अन्दाजी ४२ वर्षीय दुर्गा भट्टराई छन् ।
घाइते हुनेमा ललितपुरको ललितपुर महानगरपालिका-१० बस्ने ४५ वर्षीया सबिना आचार्य र उनको १० वर्षीय छोरा भबिमय आचार्य घाइते छन् । उनीहरुलाई थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौँ लगिदैँ छ ।







