प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरू सरकारलाई विश्वास गरेर प्रदर्शन गर्न काठमाडौँ आएको बताएका छन् ।
शनिबार थाइल्याण्डको औपचारिक भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्रीले विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा आवाज उठाए सरकारले सुन्छ भन्ने विश्वास राखेर शिक्षकहरू काठमाडौँ आएको बताएका हुन् ।
‘नत्र पहिले पहिले प्रदर्शनमा आउनु हुन्नथ्यो । प्रदर्शन गर्यो गर्यो कानमा बतास लाग्दैन भने किन गर्ने भन्ने हुन्थ्यो । अहिले आवाज उठाएपछि सरकारले सुन्छ भन्ने उहाँहरूलाई विश्वास छ,’ उनले भने ।
उनले सानो डेलिगेशन आएको भए पनि सरकारले सम्बोधन गर्ने बताए । ‘आइरहनुपर्ने थिएन । सानो डेलिगेशन आएको भए पनि भइहाल्थ्यो । सरकारले सुनेन कि भन्ने पहिले-पहिले जस्तै ठान्नुभयो होला । अलि ठूलै जमात जानुपर्छ । यो विषय टुंगिन्छ र उहाँहरू जानुहुन्छ,’ उनले भने ।
अब शिक्षकहरूको कुरा सरकारले सुन्ने प्रधानमन्त्री ओली बताए । ‘के कति गर्न सकिन्छ । कस्तो गर्न सकिन्छ भन्ने कुरा छलफलबाट टुंगिने हो । उहाँहहरूले धेरै दु:ख नपाए हुन्छ । सरकारले कुनै पनि नकारात्मक दृष्टिकोण राख्दैन,’ उनले भने ।







